अन्तिम समयसम्म सङ्घर्षमा रहन्छु: अध्यक्ष दाहाल
काठमाडाैं | भदौ २३, २०७९
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ ।
उहाँले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन आजसम्म चलिरहेको बताउनुभएको हो । शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा अध्यक्ष दाहालले विभिन्न राजनीतिक उतारचढावका कारण विभिन्न परिवेशमा शहादत प्राप्त गरेका शहीद तथा बेपत्ता भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
“एउटा कालखण्डमा गरिएको विद्रोह, अर्को ऐतिहासिक कालखण्डमा सम्झौता गर्नुपर्ने स्थिति आयो र सम्झौता गरियो”, अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ प्रक्रियाबाट जाँदा नेपाली जनताको साथ सहयोगका कारण माओवादीकै नेतृत्वमा सरकार बन्यो र पहिलो क्याबिनेटमा मेरो नेतृत्वमा सरकार बन्यो र बैठकको पहिलो निर्णयमा मैले सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकाल्नु पथ्र्यो तर निकालिएन । त्यसबेलादेखि वामपन्थी गठबन्धन र कम्युनिष्ट एकताका बेलामा पनि जनयुद्धका तमाम शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन थियो, अहिले पनि जारी छ ।”
माओवादी केन्द्रका सचिव हितराज पाण्डेले शहीद वाग्ले कुशल र सङ्गठक शिक्षक मात्र नभएर राजनीतिक शिक्षक समेत भएको बताउनुभयो । शिक्षक रहँदारहँदै पनि उहाँ आफ्नो पेशा छाडेर राजनीतिमा होमिएको स्मरण गर्नुभयो ।
प्रकाशित स्मृतिग्रन्थ सम्पादक समिति संयोजक लेखनाथ न्यौपानेले शहीद सुरेश वाग्लेलाई स्मरण गर्दै उहाँका लेख सैद्धान्तिक र वैचारिक रहेको धारणा व्यक्त गर्नुभएको थियो । “उहाँका लेख र विचार त्यसबेला महत्वपूर्ण थिए, आज पनि शहीद वाग्लेका लेख उत्तिकै महत्वपूर्ण रहेका छन्”, संयोजक न्यौपानेले भन्नुभयो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...
काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ...

